
पोखरा, ८ फागुन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा रंगशालामा निर्माण भएका भौतिक संरचनाको संरक्षणको लागि रंगशाला प्रवेश गर्ने दर्शक तथा मर्निङवाक गर्नेलाई निश्चित रकम लिने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्यसचिव सिलवालले सो कुरा बताएका हुन् ।
उनले आगामी फागुन २२ देखि हुने १८ औं संस्करणको आहारारा गोल्डकप समेत पोखरा रंगशालामै हुने जानकारी दिए । त्यसका लागि कम्तिमा १३ हजार सिट तयार भइसक्ने र बाँकी ३४ सय सिट समेत खेल अन्त्यसम्म निर्माण हुनसक्ने बताए ।
सिलवालले आगामी वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालामा सुटिङ रेन्ज र स्वीमिङ पुल निर्माणको टेण्डर प्रक्रियाको तयारी गरिएको बताएका छन् । उनले भने– ‘माटो परीक्षणको रिपोर्ट आइसकेको छ । ‘हेभी स्ट्रक्चर’ नबनाउन सुझाव सहित नयाँ बनाउन सुझाव दिएका छौं ।’
गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको समेत बताए । राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० मा कुनै न कुनै खेल हुने उनले बताए । सदस्य सचिव सिलवालले खेलकुदको भौतिक पूर्वाधार तथा खेल गतिविधिमा सक्रिय हुनेलाई रकम समेत उपलब्ध गराइने तर कामै नगरी बजेट माग्नेलाई दण्डसजायको दायरामा ल्याइने चेतावनी समेत दिए ।
उनले देशका ७ सय ५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिपरेको बताए । क्रिकेटको लागि एक हप्ताभित्र थप काम थालनी गर्ने, गल्फ कोर्सको लागि न्यूनतम २ होल निर्माण गरी प्राक्टिक्स सुरु गर्ने पनि उनले बताए । केही सरकारी स्कुल तथा कलेज (पीएन, अमरसिंह स्कुल)मा रहेका ठूला खेल मैदान, प्रहरी र सेनामा रहेका खेलमैदान कसरी उपयोगी बनाउनेबारे सोचेको बताए ।
खेल पूर्व खेलकुद पत्रकार मञ्चसँग मिलेर पत्रकारको लागि तालिम आयोजना गरिनेसमेत प्रतिबद्धता व्यक्त गरे ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताए । अब हुने ओलम्पिक खेलका लागि स्वीमिङ र सुटिङका खेलाडी प्रशिक्षणमा रहेको जानकारी दिए । निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने बताए ।
उनले बिजेनस कम्प्लेक्सको अवधारणासमेत रहेको बताए । पोखरा रंगशालामा दीर्घकालिन रुपमा पार्किङको सुविधा हुने गरी नयाँ संरचना निर्माण गर्ने आफ्नो योजना भएको सदस्य सचिव सिलवालले बताए । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपालले गरेका थिए ।