
काठमाडौं । काठमाडौंस्थित स्वीजरल्याण्ड (स्वीस) दूताबासले सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग भेटघाटको लागि अनुरोध वा भविष्यमा भेटघाटको समय निर्धारण नभएको प्रष्ट्याएको छ । स्वीजरल्याण्ड दूताबासले सम्बन्धित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ ।
दूताबासले आज एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउदै समाचारमा उल्लेखित व्यक्तिसँग दूताबासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट नरहेको उल्लेख गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले बिहिबार राजिनामा दिए लगत्तै दूताबासको वक्तब्य आएको हो ।
