कोरोना भाइरसः २२४७ को मृत्यु, ७६ हजार बढी संक्रमित, युक्रेनमा मानिसहरू सवार बसमा आक्रमण

-


     मर्दी न्युज    
     ९ फाल्गुन २०७६ मा प्रकाशित


फोटोः एजेन्सी

एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विहीबारसम्म ७६ हजारभन्दा बढी मानिसमा फैलिइसकेको छ । भाइरसका कारण हालसम्म चीनमा मात्रै २ हजार २ सय ३६ को मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार चीनमा थप ११५ जनाको मृत्यु भएको जनाएको छ । चीनबाहिर विभिन्न मुलुकमा गरी ११ जना कोरोना भाइरसबाट मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ४७ पुगेको छ । चीनबाहिर जापानमा ३, हङकङ र इरानमा २–२, दक्षिण कोरिया, ताइवान, फ्रान्स र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या भने निरन्तर घटिरहेको स्वास्थ्य आयोगले जनाएको छ । बिहीबार थप ४११ चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ । त्यस्तै १८ हजार ४ सय ३८ जना निको भइसकेका छन् ।

क्वारेन्टाइनका लागि ल्याइएका मानिसहरू सवार बसमा प्रदर्शनकारीबाट आक्रमण
युक्रेनमा कोरोना भाइरसबाट जुधिरहेको चीनबाट फिर्ता ल्याइएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले भाइरस आफ्नो क्षेत्रमा फैलनसक्ने भन्दै आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण भएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानीय जनताहरूलाई एकजुटता देखाउन र आफूहरू सबै मानव भएको सम्झन अपिल गरेका छन् ।

बिहीबार कोरोनाभाइरसबाट पीडित चिनियाँ शहर वुहान प्रान्तबाट ४५ युक्रेनी नागरिकसँगै २७ विदेशी नागरिकहरूलाई पूर्वी युक्रेनको कारकिभ ल्याइएको थियो ।

६ वटा बसमा राखेर उनीहरूलाई अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले ती बसहरूमा ढुङ्गा र आगोका गोलाहरु प्रहार गरेका थिए ।