पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

-


     मर्दी न्युज    
     ९ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, ९ फागुन । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटी नजिकै कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

पुम्दीभुम्दीको कालीमाटी हुदै छोरेपाटनको प्रवेशको क्रममा कार दुर्घटना हुँदा घटनास्थ्लमै एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेकी छन् ।

शुक्रवार साढे ४ बजेको समयमा छोरेपाटननेरको घुम्तीमा ग २ ख ७७६३ नम्बरको कार अनियन्त्रित भई सडकको पर्खालमा ठोक्किन पुग्दा दुर्घटना भएको स्थानीयले जनाएको छ ।

चालक लगायत कारमा सबार अन्यलाई स्थानीयले कारभित्रबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको घटनाका एक प्रत्यक्षदर्शीले जानकारी दियो ।

मादक पदार्थ सेवन गरेका चालकले कार नियन्त्रण गर्न नसकि सडक भन्दा निकै माथिसम्म कार धसारिएर सडकमा बजारिएको प्रत्यक्षदर्शीले बताएका थिए । उक्त कारमा चारजना सवार रहेको बताइएको छ ।

दुर्घटनामा पोखरा महानगरपालिका १७ बस्ने २१ वर्षीया विना थापामगर, उनकी अन्दाजी ४ वर्षीय छोरा अनिष थापामगर र मृतक जमुनाकी डेढ वर्षकी छोरी रिविका क्षेत्री घाइते भएको उनले बताए ।
घाइतेहरुको मणिपाल अस्पताल र नमस्ते हस्पिटल पोखरामा उपचार भैरहेको छ ।

गुल्मीको सत्यावती गाउँपालिका १ घर भएका २८ वर्षीय शिव पाण्डे कार चालक रहेको बुझिएको छ ।