
पोखरा, १० फागुन । तमु प्ये ल्हु संघले एक कार्यक्रमका बीच एक अर्ब २५ करोड लागत इष्टिमेटसहित विस्तृत गुरुयोजना सार्वजनिक गरेको छ । संघको परिसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिवार सार्वजनिकीकरण गर्दै संघले अघि सारेको गुरुयोजना गण्डकी प्रदेशकै गौरवको आयोजना हुनसक्ने बताए ।
‘पुरातात्विक महत्वको विषय, धार्मिक, सांस्कृति र भाषिक विषयलाई संरक्षण गरी समृद्धिसँग जोड्ने यस खालको गुरुयोजना प्रदेशकै गौरव बन्नेछ’ मुख्यमन्त्री गुरुङले भने– ‘विकासलाई इतिहास र पहिचानसँग जोड्न सकिएन भने त्यो विकास निरर्थक हुन्छ ।’

मुख्यमन्त्री गुरुङले पूँजीगत खर्चको लागि गरिने प्रक्रिया पनि गलत भएको बताएका छन् । आर्थिक वर्षको बजेट साउनबाट लागू भएपनि त्यसको अख्तियारी दिनलाई ४÷५ महिना प्रक्रिया लाग्ने र सार्वजनिक खरिद ऐनले पनि ढिलासुस्ती हुन गई ६÷७ महिना लाग्ने बताएका छन् । विगतमा साधनस्रोतले ३५ दिन म्याद चाहिने भएपनि अहिलेको परिस्थितिमा त्यो आवश्यक नभएको बताउँदै उनले भने–‘ अहिलेको प्रविधिको युगमा ३५ दिने सार्वजनिक म्यादलाई एक हप्तामा झार्नुपर्ने पर्छ, ‘पूँजीगत खर्च ढिलासुस्ती हुँदा हरेक ठाउँमा असर गर्छ, यसले रोजगारीमा पनि असर पुर्याएको छ, आम्दानीमा असर पुर्याएको छ ।’

तमुहरुको ऐतिहासिक एवम् पुरातात्विक क्होलालाई संरक्षण, सम्बद्र्धन गर्न आवश्यक सहयोग गर्ने मुख्यमन्त्री गुरुङले बताए । क्होलालाई मौलिकतामा नबिगारी त्यसको संरक्षणमा गण्डकी प्रदेश लाग्ने पनि उनले भने ‘जथाभावी बनेको भौतिक संरचना, पार्टी पौवालाई हटाउनु पर्छ, त्यसको मौलिकताको संरक्षणको लागि गण्डकी प्रदेशले काम गर्छ ।’

संघले अघि सारेको विस्तृत गुरुयोजनालाई प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने मुख्यमन्त्री गुरुङले बताए ।
तमु प्ये ल्हु संघले अघि सारेको विस्तृत गुरु योजनामा क्होइबो घर, अर्घुं घरसहित सभा हल, बृद्धबृद्धाको लागि डे कयर, स्वास्थ्य चौकी, रेष्टुरेण्ट, गेष्ट हाउस, स्वीमिङ पुल लगायतका योजनाहरु समावेश छन् ।

संघको विस्तृत गुरुयोजना सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, अर्का सांसद मानबहादुर गुरुङ, गुरुयोजनाका परिकल्पनाकार आर्किटेक्चर इन्जिनियर बाबुराम भण्डारी, पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मोहन बाँस्तोला, मण्डला आईटी सोलुसनका सफ्टवयर इन्जिनियर तथा तमु प्ये ल्हु संघको वेभ डिजाइनर प्रतिमा शर्मा, संघका वरिष्ठ उपाध्यक्ष आईबहादुर ल्हेंगे तमुले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हर्कबहादुर योज तमुले सञ्चालन गरेका थिए । कार्यक्रममा संघको आधिकारिक वेभसाइट डब्लुडब्लुडब्लु तमु प्ये ल्हु संघ डट ओराजी डट एनपी को पनि मुख्यमन्त्री गुरुङले सार्वजनिक गरेका थिए ।