कोरोनाभाइरस: दक्षिण कोरियामा एकै दिनमा सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर

-


     मर्दी न्युज    
     फागुन १० गते २०७६ मा प्रकाशित


दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् ।

शुक्रवारयता थप २२९ जनामा कोभिड–१९ गराउने भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप “एउटा गम्भीर चरणमा“ प्रवेश गरेको टिप्पणी गरेका छन् ।

अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको संख्या बढ्न सक्ने भय देखिएको छ ।

डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र“ घोषणा गरिएको छ।

हिले डाएगुमा सडकहरू लगभग रित्ता देखिन्छन् ।

चीनमा अधिकारीहरूले नयाँ संक्रमण र मृत्यु हुने बिरामीको संख्या घटेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमित मानिसको संख्या बढेको छ ।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस संक्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।

चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरसका घटनाको संख्या बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चिन्ता व्यक्त गरेका छन् ।

उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर “साँघुरिँदै गएको“ चेतावनी दिएका छन् ।

चीनमा अहिलेसम्म ७६,२८८ जनामा संक्रमण भएको र २,३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर २६ देशमा १,२०० जनाभन्दा बढीमा संक्रमण भएको र आठ जनाको मृत्यु भएको छ ।
जापानको तटनजिकै क्वारन्टीनमा राखिएको एउटा पानीजहाजमा ६०० जनालाई पनि संक्रमण भएको पुष्टि भएको छ ।

दक्षिण कोरियामा एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको संक्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन् ।

चेओङ्डोबाट रोग फैलिएको अधिकारीहरूको आशङ्का छ ।

त्यहाँ उक्त धार्मिक समूहका संस्थापकका आफन्तको अन्तिम संस्कारमा धेरै अनुयायीहरू सहभागी भएका थिए । बिबिसी