घलेगाउँमा आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)

-


     मर्दी न्युज    
     ११ फाल्गुन २०७६ मा प्रकाशित


गंगा घले
घलेगाउँ, लमजुङ । लमजुङ जिल्लाको क्होलासोंथर गाउँपालिका वडा नं. ३ (साविक उत्तरकन्या गाविस) स्थित रमणीय घलेगाउँ प्रकृति, संस्कृति र आत्मीयताले सम्पन्न गाउँ हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घले गाउँ करिब ६ सय वर्ष पुरानो मानव वस्ती हो ।

चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमशृंखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका छिर्ने साँघुरा गाउँ भित्रका बाटाहरु । बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । लमजुङ जिल्लाको घलेगाउँले बोकेको परिचय हो यो । सार्क राष्ट्रकै नमुना गाउँको उपाधि पाएको यो पर्यटकीय क्षेत्र हाल त्यस्तो गन्तव्य बनेको छ, जहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्दछन ।

घलेगाउँमा गाउँले परिवेश बुझ्न, स्थानीय घले तथा गुरुङ समुदायको संस्कृति हेर्न तथा प्रकृतिसँग रमाउन पर्यटकहरु जाने गर्दछन । दक्षिण एसियाका सार्क राष्ट्रभरि नै यस किसिमको भौगोलिक बनावट, मौलिक संस्कृति तथा प्राकृतिक सौन्दर्य नपाइने भएकाले घलेगाउँले नमुना गाउँको उपाधि पाएको हो । घलेगाउँमा २०५६ सालदेखि सुरु गरिएको होमस्टेले अर्को सफलता पाएको छ । सुरुमा नौ वटा घरबाट सुरु गरिएको होमस्टे यतिबेला सुविधासम्पन्न रुपमा ३० घरमा होमस्टे सन्चालनमा भएका छन । होमस्टेका साथै पर्यटकहरुको लागी रमाउन यहाँ प्रदर्शन गरिने झ्याउरे, सेर्का, घाटु, दोहोरी, कृष्ण चरित्र, झाँक्री नाच आकर्षणले गर्दा त्यहा पुग्ने सबै पर्यटकहरु आनन्दको महसुस गर्दछन ।

घलेगाउँमा मौलिक संस्कृतिको अवलोकनबाहेक अन्य घुम्न लायक ठाउँ पनि छन् । गुरुङ संग्रहालय, उत्तरकन्या मन्दिर, खुल्ला चौरका फाँटहरु एवं चिया बगानका साथै माछापुच्छ्रे्र, अन्नपूर्ण, लमजुङ हिमाल, बुद्ध हिमाल आदि हिमश्रृंखला आँखैअगाडि देख्न पाइन्छ ।