
तस्विरः शेषकान्त शर्मा
सिलिगुडी (पश्चिम बङ्गाल), १२ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण पर्यटक आगमन सुन्यजस्तै भएर पर्यटन व्यवसाय खस्केको बेला पोखराले बढी पर्यटक भित्रिने उत्तर पूर्वी भारतीय सहरबाट थप पाहुना भित्र्याउने उद्देश्य लिएर त्यस क्षेत्रमा प्रबद्र्धनात्मक गतिविधि गरेको छ । उत्तरपूर्वी भारतीय सहरमा प्रबद्र्धनात्मक गतिविधि अन्तर्गत हिजो ‘बङ्गाल ट्राभल मार्ट २०२०’ मा ‘पोखरा नाइट’ सम्पन्न गरेको छ ।
पोखरा तथा समग्र नेपालको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यसाथ पश्चिम बङ्गाल प्रान्तको सिलिगुडीमा पुगेको पोखरेली पर्यटन व्यावसायीहरुको छाता सङ्गठन पोखरा पर्यटन परिषदको टोलीले ‘बङ्गाल ट्राभल मार्ट २०२०’ को तेस्रो दिन एक भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
सिलिगुडी भौगोलिक तथा रणनैतिक रूपमा आफैंमा महत्वपूर्ण शहर भएपनि यस ट्राभल मार्टमा बङ्गलादेश, भुटान र सिक्किम लगायत भारतका विभिन्न प्रान्तबाट आएका दर्जनौं पर्यटन व्यवसायीहरुको बीचमा पोखरा तथा आसपासका पर्यटन गन्तव्यहरु, अन्य प्रोडक्टहरु, यातायातको अवस्था, होटलहरुको गुणस्तर र स्तरीयता बारेमा अन्तक्रिया समेत गरिएको छ ।

ट्राभल मार्ट उद्घाटन कार्यक्रममा पश्चिम बङ्गालका पर्यटन मन्त्री गौतम देवले नेपालको प्राकृतिक सौन्दौर्यता बारेमा चर्चा गर्नुले पनि व्यावसायिहरु उत्साही भएका छन । मार्टको तेस्रो दिन बेलुका गरिएको साङ्गीतिक प्रस्तुति, पोखराको बारेमा देखाइएको वृत्तचित्र, नेपाल पर्यटन बोर्डका जयशक्ति सराफको प्रस्तुति आदि प्रबद्र्धनात्मक गतिविधि सञ्चालन गर्दा आगामी दिनमा थप पर्यटक भित्रिने व्यवसायीको अपेक्षा छ ।
पोखरा नाइट कार्यक्रमको संचालन राजेश पहारीले गर्नु भएको थियोे भने सभापतित्व पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले गर्नुभएको थियो । पोखरा पर्यटन व्यवसायीहरुको प्रवद्र्धनात्मक कार्यक्रमको अवसरमा सहभागीहरुलाई पोखरा भ्रमणको निमन्त्रणा दिइएको छ ।
पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)को अगुवाइमा पोखरेली व्यवसायीले प्रबद्र्धनात्मक गतिविधि सुरु गरेका यो पाँचौ प्रवद्र्धनात्मक अभियान हो । उत्तरपूर्वी भारतीय सहरबाट नेपाल भित्रिने पर्यटकको यकिन तथ्यांक नभएपनि हरेक वर्ष आगमन बढिरहेको व्यवसायीको भनाइ छ ।
परिषद् र सिलिगुडीको इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसनबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा पाँच वर्षअघि द्विपक्षीय सम्झौता भएबमोजिम हरेक वर्ष भारतको सिलगुढी सहरमा हुने बंगाल ट्राभल मार्टमा पोखराले सहभागिता जनाउँदै प्रबद्र्धनात्मक गतिविधि चलाउँदै आएको छ । ‘

यसैगरी परिषद्ले भारतकै कोलकातामा पनि प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उद्देश्यले आज साँझ कोलकातातर्फ प्रस्थान गर्ने चिरञ्जीवी पोखरेलले बताए । परिषद्ले पहिलोपटक कोलाकातामा प्रबद्र्धनात्मक कार्यक्रम गर्न थालेको उनले मर्दीन्यूजलाई बताए । ‘कोरोनाभाइरसका कारण अहिलेको अप्ठेरोमा परेकोले हामीलाई नयाँ बजारको खाँचो छ । त्यही भएर हामी योपटक कोलकाता सहरसम्म पहिलोपटक प्रवद्र्धनात्मक कार्यक्रम गर्दैछौं,’ पोखरेलले भने, ‘नयाँ सहरमा कार्यक्रम लिएर जान बाध्य पनि छौं । किनकि नयाँ गन्तव्यबाट यो पटक बढी पाहुना भित्र्याउन प्रयास गर्नेछौं ।’