
पोखरा, १३ फागुन । गतवर्ष फागुन १५ गते ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको मृत्यु भएको एक वर्ष पुग्दैछ । सोही दिनलाई स्मरण गर्दै फागुन १५ गते रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले विविध कार्यक्रमसहित स्मृति दिवस मनाउने भएको छ । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठनको आयोजनामा विभिन्न कार्यक्रम गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
विभिन्न कार्यक्रम अन्तर्गत शहिद तथा विभूति पार्कमा रविन्द्र अधिकारीको पूर्णकदको शालिकको अनावरण, क्यानभासमा रविन्द्र अधिकारी नामक पेन्टीङहरुको प्रदर्शनी, स्मरण सभा, स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरु सहभागि हुने नेपाली राजनीति, युवा र रविन्द्र अधिकारी शिर्षकमा निवन्ध प्रतियोगिता र समाज रुपान्तरणमा रविन्द्र अधिकारी विषयक ९ विधामा कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ ।
रविन्द्र अधिकारीको पूर्णकदको शालिक निर्माणको सम्पूर्ण खर्च पोखरा महानगरपालिकाबाट गरेको पनि महासचिव आचार्यले बताए ।
पत्रकार सम्मेलनमा स्व. रविन्द्रका धर्मपत्नी, प्रतिष्ठानका अध्यक्ष तथा सांसद विद्या भट्टाराईले भने– ‘‘हामी नचाहादा नचाँहदै पनि फागुन १५ लाई स्मरण गर्न बाध्य भएको छौं । यही दिनमा तपाइँ हामीबीचबाट सदाका लागि विदा हुनुभएका रविन्द्र अधिकारीले गर्नुभएको सकारात्मक तथा अविस्मरणीय कार्यहरुलाई स्मरण गर्दै उहाँलाई चिरस्थायी बनाउन गत जेठ १८ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट एक गैरनाफामुलक तथा अभिछिन्न उत्तराधिकारी रहने गरी रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा गरिएको यहाँहरुलाई विदितै छ ।’
प्रतिष्ठानकी अध्यक्ष भट्टराईले प्रतिष्ठानले सिर्जनात्मक कामलाई अगाडि बढाउँदै लैजाने बताईन् । स्व. रविन्द्र अधिकारीको उत्प्रेरक विचारलाई आत्मसाथ गर्दै प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिईन् ।
यसैगरी प्रतिष्ठानले विपन्न, जेहेन्दार तथा प्रविधिमा दक्ष विद्यार्थीहरुको हौसला प्रदान गर्न छिट्टै कम्तिमा १ करोडको अक्षयकोष स्थापना गरिने प्रतिष्ठानका महासचिव धनराज आचार्यले बताए । त्यस्तै प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापाले प्रतिष्ठानको उद्देश्य र लक्ष्य अनुसारनै काम गर्ने बताए ।
निबन्ध प्रतियोगितामा पुरस्कृतलाई सोही दिन पुरस्कार वितरण गरिने आचार्यले बताए । निबन्ध प्रतियोगितामा प्रथम हुनेले रु. २५ हजार, द्वितीयले १५ हजार र तृतीय हुनेले १० हजार नगद प्राप्त गर्ने उनले जनाए ।
पोखराको सभागृहमा हुने स्मृतिसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जनाए ।
फागुन १६ गते समाज रुपान्तरणमा रविन्द्र अधिकारी विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको समेत पत्रकारसम्मेलनमा जनाकारी गराए ।