
पोखरा, १४ फागुन । विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेका कारण आज पोखराका सबै शिक्षण संस्था बन्द भएका छन् । शिक्षण संस्था बन्द भएपछि पढाइ प्रभावित भएको हो ।
फागुन १४ गते संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत नेता कार्यकर्ताहरु गिरफ्तार गरेको विरोधमा देशव्यापी शैक्षिक आमहड्तालको आयोजना गरेको छ । संगठनले कास्कीमा समेत एक विज्ञप्ति जारी गर्दै नीजि तथा सामुदायिक, सार्वजनिक विद्यालय लगायतका शैक्षिक संस्था सञ्चालन नगरी आफ्नो आन्दोलनलाई सहयोग गर्न अपिल गरेको छ ।

विद्यार्थी संगठनका अध्यक्ष प्रकाश बास्तोलाले हस्ताक्षरित विज्ञप्ति जारी गर्दै संगठनले तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण, एमसीसी सम्झौता, चर्को मुल्य बृद्धि, भ्रष्टाचार लगायतका विषयमा विरोध जनाउने क्रममा आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरि झुटा मुद्दा लगाएको भन्दै शैक्षिक हड्तालको आह्वान गरेको हो ।
यसक्रममा रुपन्देहीबाट प्राप्त समाचारअनुसार जिल्लाका सबै शैक्षिक संघसंस्थाहरु बन्द रहेको खबर छ ।