रविन्द्र अधिकारीको पूर्ण कदको शालिक अनावरण, दुई तिहाईको सरकार आयो भनेर मात लाग्यो भने काँग्रसको हालत हुनेः मुख्यमन्त्री गुरुङ

-


     मर्दी न्युज    
     फागुन १५ गते २०७६ मा प्रकाशित


पोखरा, १५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई तिहाईको सरकार आयो भनेर अहिले मात लाग्यो भने २०१५ सालको काँग्रेसको हालत हुने बताएका छन् । बुधवार तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पोखरा १८ ग्यारजातिमा रहेको शालिक अनावरण गर्दै सो कुरा बताएको हो ।

मुख्यमन्त्री गुरुङले तत्कालिन समयमा काँग्रेसमा उन्माद बढी नै छाएको बताउँदै भने ‘यतिखेर हामीमा पनि कता कता मात लागेको जस्तो देखिन थालेको छ, त्यो घटनाको पुनरावृत्ति नहोस् ।, जनताले गरेको विश्वासलाई हामीले आप्mनो योग्यता, क्षमता र इमान्दारले काम गर्नुपर्छ ।’

‘कुनै पनि व्यक्तिको लागि संविधान संशोधन गर्नु जनतालाई बेइमान गर्नु हो’ उनले भने ‘एउटा व्यक्तिको इच्छा आकांक्षालाई पूरा गर्न संविधान संशोधन गर्ने, जनता, राष्ट्र र अन्तर्राष्ट्रिय जगतले के भन्छ ? यो कालो धब्बा लाग्ने काम भएको छ ।’ छोटो बेलेका मुख्यमन्त्री गुरुङले अधिकांश केन्द्रिय नेताहरुले गरेको कामप्रति लक्षित थियो ।

शालिकको संघका सांसद खगराज अधिकारी, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, रविन्द्रकी धर्मपत्नी विद्या भट्टाराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलगायतले अनावरण गरेका थिए । अनावरण कार्यक्रममा नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले देखेको सपना र योगदानलाई पछ्याउँदै जाने प्रतिबद्धता गरेका थिए ।

पोखरा– १८, ग्यारजातिस्थित राष्ट्रिय तथा विभूति पार्कको पूर्वी भागमा रविन्द्र अधिकारीको पूर्ण कदको शालिक राखिएको छ । शालिकको सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले मुर्ति तयार पारेको हो । उनले ६ महिना लगाएर उनले यो मुर्ति तयार पारेका थिए । सो अवसरमा कलाकार तिलवीर सुनारलाई प्रमाणपत्रसहित माला लगाएर सम्मान पनि गरिएको थियो ।

पोखराका विभिन्न चोक (आईल्याण्ड)का शालिकलाई पार्कमा राख्ने योजनानुसार बनिरहेको सहिद पार्क आउँदो आर्थिक वर्षमा तयार पारिसक्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले जानकारी दिए । पार्कमा रविन्द्रसहित पृथ्वीनारायण शाह, पुष्पलाल श्रेष्ठ, भीमसेन दाहाललगायत अन्य १८ सहिदका शालिक राखिने छन् । सहिद पार्कमा कफी सप र सेमिनार हल पनि थपेर पर्यटकीय गन्तव्य बनाउँनतर्फ पोखरा महानगरपालिका लागि परेको मेयर जिसीले बताए ।

तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको गतवर्ष आजकै दिन फागुन १५ गते ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । नेकपाका प्रतिभाशाली युवा नेता अधिकारीको स्मरण गर्दै आज पोखरा महानगरपालिकाले वडा नं. १८ सराङकोट जामुनबोटस्थित ग्यारजातिमा शालिक राखिएको हो ।