पोखरा, १५ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपा पार्टीभित्र दुई दिन अघि २÷४ रेक्टरको भूकम्प गएको र त्यस भूकम्पले नेकपाको घर कतै पनि नचर्किएको, यदि चर्किएमा इन्जिनियरहरुले रक्टोफिट गरेजस्तो पार्टीभित्रका इन्जिनियरहरुले रेक्टोफिट गर्ने बताएका छन् । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकरीको प्रथम स्मृति सभामा विहीबार पोखरामा सम्बोधन गर्दै मन्त्री भट्टराईले पार्टी भित्रको विवादलाई लिएर अनावश्यक चर्चा गर्ने अवस्था नभएकोले सबैलाई शान्त रहन आग्रहसमेत गरेका हुन् ।
मन्त्री भट्टराईले पार्टीमा धेरै अनुभवि, १४ वर्ष जेलमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली, सेकेण्ड सेकेण्डमा मृत्युको मुखबाट बचेका पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल गरी ४ वटा प्रधानमन्त्री भइसकेका व्यक्तित्वले ठूलो पार्टी नेकपा भित्रको विवादलाई साम्य पार्ने विश्वास व्यक्त गरे । उनले भने अहिलेको विवादलाई लिएर कोही पनि खुँडा खुकुरी लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै सबैले थन्क्याउन आग्रह पनि गरे ।
नेकपाको महाधिवेसनबाट पार्टीभित्र रहेको संक्रमणकालिन अवस्था समाप्त भएर जाने विश्वास गर्दै अबको ५ वर्षपछि पनि नेकपा पार्टी सडकमा नआउने बताए । मन्त्री भट्टराईले भने– ‘अबको ५ वर्षपछि पनि नेकपा पार्टी सडकमा आउने छैन, सिंहदरबार, मुख्यमन्त्री कार्यालयमा नै रहनेछ ।’
रविन्द्र अधिकारीका धेरै राम्रा कामको आफूले निरन्तरता दिदै आएको उल्लेख गर्दै मन्त्री भट्टराईले वैशाव २२ गते अधिकारीको जन्मदिनको अवसरमा पर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने पर्यटन व्यवसायी र पत्रकारलाई रविन्द्र स्मृति पुरस्कार प्रदान गरिने भएको जनाए । आज बिहान सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा ‘रविन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।
यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नेपाल भ्रमण वर्ष २०२० लाई सुरुवात गर्ने निर्णय पनि रविन्द्र अधिकारीले नै गरेको उल्लेख गर्दै उनको सपना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि एक भएकोले यो अभियानलाई सफल पार्ने प्रतिबद्धता गरे । मुख्यमन्त्री गुरुङले जनतासमक्ष न्यानो सम्बन्ध राखेर राष्ट्रलाई माथि उठाउन सक्ने रविन्द्र अधिकारी जस्ता व्यक्ति राज्यलाई आवश्यक रहेको बताए ।
जनमतभन्दा बाहिर जान कसैलाई पनि अधिकार नभएको बताउँदै जनमत विपरित हुने निर्णय बिरुद्ध त्यसको विरोध गर्न पार्टी एवं आम जनतालाई समेत मुख्यमन्त्री गुरुङले आव्हान गरे ।
स्मृतिसभामा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, नेकपाका नेता हितराज पाण्डे लगायतले बोलेका थिए । रविन्द्र स्मृति प्रतिष्ठाका अध्यक्ष एवम् रविन्द्रका धर्मपत्नी तथा सांसद विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव धनराज आचार्यले गरेका थिए । प्रतिष्ठानले एक करोडको अक्षयकोष स्थापना गर्ने तयारी गरेको प्रतिष्ठानका महासचिव आचार्यले बताए ।