
पुलिमराङ, तनहुँ, १६ फागुन । तनहुँसहित तीन जिल्ला जोड्ने पर्यटकीय क्षेत्र मिर्लुङकोट पदमार्गको प्रवद्र्धनका लागि आजबाट पाँचौं महोत्सव हुँदैछ । महोत्सव यही फागुन २० गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्ने मिर्लुङकोट सूचना केन्द्रका अध्यक्ष तथा महोत्सवका संयोजक शम्शेर लम्सालले बताए ।

‘नेपाल भ्रमण वर्ष २०२० को सान, पहाडकी महारानी मिर्लुङकोटको पहिचान’ नारासहित आयोजित पाँचौं मिर्लुङकोट महोत्सवमा विभिन्न जातजातिको झाँकीसहित स्थानीय कृषि उत्पादनसमेत प्रदर्शनी गरिने महोत्सवका संयोजक लम्सालले बताए । मिर्लुङकोट महोत्सवमा प्याराग्लाइडिङ, सांस्कृतिक ग्रामको भ्रमण, जडिबुटी प्रदर्शन आदि महोत्सवको थप आकर्षकबारे उनले बताए ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घाबाट सुरु भई जिल्लाका पर्यटकीय क्षेत्रहरू बसन्तपुर, चोक चिसापानी, मिर्लुङ, पुलिमराङ हुँदै लमजुङको जिता, भोर्लेटार तथा कास्कीको रुपाताला र बेगनासतालसम्म पुग्ने पदमार्गको प्रमुख भाग मिर्लुङ क्षेत्रमा पर्दछ । महोत्सव सांस्कृतिक सम्पदा र पर्यटकीय दृश्यावलोकनका लागि धनी मानिएको मिर्लुङकोटको रानीपोखरीमा आयोजना गरिएको छ ।

तनहुँ जिल्लाको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट अहिले पर्यटकीय गन्तब्य बन्न थालेको छ । समुन्द्री सतहबाट १६५४ मिटर उचाइमा रहेको मिर्लुङकोट र यसको आसपासका डाँडाहरूबाट तनहुँ जिल्लाको विभिन्न स्थानका साथै लम्जुङ, गोरखा, मनाङ र कास्कीका विभिन्न स्थानहरू सजिलैसँग देख्न सकिन्छ । सुन्दर प्राकृतिक भूवनोटभित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तर भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ ।
तनहुँको डुम्रे बजारबाट प्रवेश गरी भन्सार, सेपाबगैचा, चन्द्रवती हुदै मिर्लुङ जान सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर छ । चन्द्रवती बजारबाट बिभिन्न ५ वटा सहायक मार्गमार्फत मिर्लुङका विभिन्न स्थानहरू रतनपुर, आरवाजे, राइपाली भञ्याङ जान सकिन्छ । लम्जुङको सुन्दरबजार, भोटेओढार जानका लागि केही वर्ष अघिसम्म पैदल मार्गका रूपमा यसलाई प्रयोग गरिन्थ्यो ।

यस्तै चन्द्रवती बजारबाट घलेछाप, ओख्ले हुँदै बयापानी भञ्याङ, कवाजीत हुँदै बयापानी, आहाले हुँदै बयापानी, पोखरीछाप हुँदै बयापानी जान सकिन्छ । मिर्लुङकोट जानका लागि बयापानीबाट पैदल यात्रामा निस्कनुपर्ने हुन्छ । कोटसम्म पुग्नका लागि ढुंगाको पेटी बनाइएको छ । मिर्लुङकोट क्षेत्र प्राकृतिक, साँस्कृतिक, धार्मिक र जैविक विविधतामा धनी छ ।
यसैगरी तनहुँको सदरमुकामबाट लमजुङको सोतीपसल, बगुवा हुँदै शहिदग्राम पुलिमराङसम्म यातायातको साधन प्रयोग गरी करिब डेढ घण्टाको पैदलयात्राबाट मिर्लुङकोट पुग्न सकिन्छ ।

२०६७ सालमा सुशीलचन्द्र भण्डारीको अध्क्षतामा मिर्लुङकोट सूचना केन्द्र गठन गरेपछि बल्ल यसको चर्चा हुन थालेको हो । त्यसयता नेपाल सरकारले पनि सूचना केन्द्रमार्फत लगानी बढाउँदै लगेको छ । मिर्लुङकोट सूचना केन्द्रले पर्यटन विभागमार्फत गठन भएकै बर्ष ३ लाख, आर्थिक वर्ष २०६८÷६९ मा ५ लाख, २०७०÷७१ मा ७ लाख र ०७१÷७२ अहिले १० लाख, २०७४÷०७५ मा प्रदेश सरकारले १५ लाख र संघ सरकारले २० लाख रकम मिर्लुङकोटको पर्यटन विकासमा लगाइएको छ । पर्यटन सूचना केन्द्रका लागि जग्गा खरिद, भवन निर्माण, कम्पाउण्ड र आँगनमा ढुंगा छाप्ने काम, मिर्लुङकोट जाने सिँढी मार्ग निर्माण गरेको छ ।
तनहुँ, लम्जुङ, कास्कीका २५ गाविस र लेखनाथ नगरपालिकालाई मिर्लुङकोट पर्यटन विकासले जोडेको छ । चर्चित अन्नपूृर्ण पदमार्गभन्दा सुरक्षित र राम्रो रहेको मिर्लुङकोट पर्यटन पदमार्ग शुरुवात आदिकवि भानुभक्त आचार्यको जन्मभूमि कर्मभूमिबाट शुरु हुन्छ ।

मिर्लुङको उत्तरी भेग राइपाली भञ्याङ, चोकडाँडा, चिहानडाँडा, बयापानी भञ्याङ, मिर्लुङकोट, पोखरीछाप पर्यटकीय केन्द्र हुन् । यी भेगमा चिसो बतास दिनभर नै चलिरहन्छ । निरन्तर चलिरहने बताससँग सल्लाका पातहरु सुसाइरहेको पनि सुन्न सकिन्छ । यतिखेर मिर्लुङकोटको वनजंगलमा लालीगुराँस छपक्कै फूलेको छ । हिउँदको समयमा डाँडाभरि लालीगुराँस फूल्ने भएका कारणले पनि तत्कालिन मिर्लुङ ४ वयापानीका सष्ट्रा स्वर्गीय क्षेत्रप्रताप अधिकारीले ‘म त लाली गुरास भएछु वनै भरि फूली दिन्छु मनै भरि फूली दिन्छु,’ भनेर गीत लेखे ।
बन काफल फल्ने स्थान पनि यहि छ । वनजंगलमा चाप, धयरा, ऐसेलु, सतिसाल, सल्ला, चुत्रो, कटुस जस्ता वोटविरुवा तथा फलफूल मात्र होइन, पाँचऔले, कुरीलो जस्ता जडिबुटीहरु समेत यहाँ पाइन्छ । विभिन्न छहरा र पहराहरुको आकर्षणका, तामाको धाउ पहरा, साथै विभिन्न भञ्याङ, देउराली, मठमन्दिर र मस्जिदहरु यस क्षेत्रका गहना तथा पर्यटकका सारथी बन्न सक्छन् ।

यहि स्थानबाट मनोरम हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । धौलागिरी हिमाल, गणेश हिमालदेखि विभिन्न चुरे महाभारत श्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । तिब्बत र मनाङबीचको बोर्डर हिमाल जसलाई ग्रेड हिमाल पनि भनिन्छ उक्त हिमाल पनि यहिँबाट सजिलैसँग देख्न सकिन्छ ।
मिर्लुङकोटबाट लम्जुङका सुन्दर बजार, भोटेओढार, बाहुनडाँडा सजिलैसँग देख्न सकिन्छ । यस्तै चोककोट थामाचुली गढीबाट सूर्योदय समेत हेर्न सकिन्छ । लम्जुङको जीता गाविसमा पर्ने धार्मिक एवं ऐतिहासीक स्थल सप्तधारा, पञ्चमन्दिर, छानापाखा, इजार गाउ, जिताकोट, भयरथाने, तान्द्राङ्ग टक्सारमा रहेको जल्पादेवी मन्दिर, तामाखानी गाउँ, तान्द्राङ्गकोट, नागभैरव मन्दिर यस पदमार्गका प्रमुख आकर्षणहरु हुन् ।
मिर्लुङमा बिभिन्न जातजातिहरु गुरुङ, मगर, बाहुन क्षेत्री, दमाई, कामी, सार्की, मुसलमान, नेवारहरु बसोबास गर्दछन् । बिभिन्न जात जाति, धर्म समुदाय र सम्प्रदायको अलग–अलग भेषभूषा, रहनसहन, चालचलन, धर्म र सँस्कृति यसका थप गहना हुन् । यस पदमार्गको बस्तीहरुभित्रको अन्तरघुलन र एकता साँच्चै नै रहरलाग्दो र लोभलाग्दो छ । कुनै रिसराग र जातीय द्वेष छैन । सामाजिक सदभाव एकताको प्रतीक भन्दा हुन्छ मिर्लुङलाई ।

उनीहरूको आ–आफ्नै मौलिक सँस्कृतिहरू छन् । स्थानीयस्तरको साँस्कृतिक पक्षको संरक्षण गरी लोपोन्मुख सोरठी, घाँटु, कौरा, दोहोरी, बालन, चुड्का, भजन, लाखे, ठाडोभाका जस्ता गीत संगीतहरूको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
यहि क्षेत्रमा अत्यन्तै संकटमा परेको रामायणमा समेत उल्लेख भएको बालन नाच नाच्ने गरिन्छ । गुरूङ र मगर बस्ती बाक्लो रहेका कारणले रोदी बस्ने चलन अझैसम्म जीवीत छ यो भेगमा । बिषेश गरी गुरूङ समुदायको सोरठी र घाटु नृत्य यस क्षेत्रमा विषेश चर्चित छ । स्थानीय जनसमुदायले गाउने ठाडोभाका, लोकदोहरी, सोरठी, पाउदुरे, घाटु, चुड्का, मारुनी लागयतका लोकभाका सुन्न र नाचहरु हेर्नसमेत यस क्षेत्रमा देख्न पाइन्छ । चुड्का र भजनको पनि उदगमस्थल यहि हो भन्दा फरक पर्दैन ।
मिर्लुङकोटको चुचुरोमा राजा धर्मागत सेनले शासन गरेको र उनको दरवारको भग्नाबशेष देख्न पाइन्छ । राजा धर्मागत सेनको दरवार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशवाट परेको पानीबाट वनेको यो पोखरीमा पानी कहिल्यै पनि सुक्दैन । यो पोखरी सामुद्रिक सतहबाट १५३९ मिटर अग्लो स्थानमा छ ।

मिर्लुङको ठुलढुंगामा ऐतिहासिक सिद्ध गुफा रहेको छ । मिर्लुङकोट पर्यटन पदमार्गमा आदिकवि भानुभक्तको जन्मस्थान, जन्मघर, भानु संग्राहालय मात्र होइन बसन्तपुरको चर्चित थानीमाई मन्दिरसमेत पर्दछ । कात्तिक महिनाको पहिलो सोमवारदेखि पुस र वैशाख, जेष्ठ, असार, साउन, भाद्र, असोज बाहेकका बाँकी महिनाको प्रत्येक सोमवार थानीमाईको भाकल गरि फूलको डोली लैजाने परम्परा छ ।
मिर्लुङको पश्चिमतर्फ शक्तिदेवको रुपमा मानिने शिखर कटेरी भयरको मन्दिर त्यसको ठीक उत्तरतर्फ नेपालको प्रजातान्त्रिक आन्दोलनमा ६ जनाले शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद पार्क रहेको छ ।
व्यास ८ मा रहेका यो शहिद स्मारक ११५० मिटरको उचाइमा छ । सतिश्वारा गाविसमा पर्ने ऐतिहासिक जामे मस्जिद विक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन्, यो पनि आकर्षणको केन्द्र हो । तान्द्राङकोट नागभैरव मन्दिरमा महापुरुष अमरसिंह थापाले विक्रम संवत १८९७ मा चढाएको घण्टा अझै पनि सुरक्षित छ ।
यस्तै करपुटारमा रहेको इशानेश्वर महादेवको मन्दिर भएको स्थानमा महादेव पत्नी सतीदेवप्को अंग पतन भएको थियो । धार्मिक स्थलहरुमा यो पशुपतिनाथ जतिकै महत्वपूर्ण मान्न सकिन्छ ।
भौगोलिक दृष्टिकोणबाट केही समस्या भए पनि मिर्लुङकोटलाई चिनाउन हरेक बर्ष ‘मिर्लुङकोट पर्यटन महोत्सव’ गर्ने गरिएको छ । २०६७ साल चैत २८ गते स्थापना भएको मिर्लुङकोट सूचना केन्द्रले २०७० सालमा फागुन १९, २० र २१ गते पहिलो मिर्लुङकोट पर्यटन महोत्सव आयोजना गरि निरन्तर दिंदै आएको छ ।