
सांकेतिक फोटो
दीपक परिवार
पोखरा — अन्नपूर्ण पदमार्गमा गत माघ ३ मा आएको हिमपहिरोमा पुरिएर वेपत्ता भएका ७ मध्ये एक जनाको शव शुक्रबार फेला परेको छ । हिमपहिरो आएको स्थल कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित देउराली नजिक नेपाली गाइड सरोज परियारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
वेपत्ताको खोजीमा जुटेका सरोजका दाइ सन्दीप परियार र ट्रेकिङ मजदुरको टोलीले शव निकालेको थियो । प्रवक्ता राजकुमार केसीले शुक्रबार मौसम प्रतिकुलताले प्रहरी टोली त्यसतर्फ पुग्न नसकेको बताए । शनिबार प्रहरी पुगेर शवलाई पोखरा ल्याउने डिएसपी केसीले बताए ।
चितवनका सरोज एक चिनियाँ पर्यटक लिएर अन्नपूर्ण आधार शिविर जाँदैगर्दा बाक्लो हिमपात भएपछि देउरालीभन्दा माथि जान नसकेपछि फर्कने क्रममा हिंकु केभ नजिकैको ठूलो हिमपहिरोमा पुरिएका थिए । उनको साथमा भएकी चिनियाँ पर्यटक हिमपहिरोबाट उम्कन सफल भएकी थिइन् । हिमपहिरोमा पुरिएका अन्य ४ कोरियाली नागरिक र २ नेपाली गाइड र पोर्टर अझैं वेपत्ता छन् ।
हिमपहिरोपछि ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), प्रहरी, सेना र स्थानीय होटल व्यवसायी उद्दारमा खटिएपनि बाक्लो हिउँ जमेकोले वेपत्ताको अवस्था पत्ता लागेको थिएन । कोरिया र काठमाडौंबाट खटिएका उच्च प्रविधिसहितका टोलीले समेत हिउँ पग्लिएपछि मात्रै खोज्न सकिने बताएर उद्दार टुंग्याएका थिए ।
सरोजका दाइ सन्दिप ५ दिन अघि टानले उपलब्ध गराएका ट्रेकिङ मजदुर र सामग्रीसहित भाइको खोजीमा निस्किएका थिए । टान पश्चिमाञ्चल च्याप्टर अध्यक्ष हरि भुजेलका अनुसार २१–२२ वर्षका सरोजले ३ वर्ष अघि गाइड पेशा सुरु गरेका हुन् । कान्तिपुर