मिर्लुङकोट आकर्षक पर्यटकीय गन्तव्यः मन्त्री लम्साल

-


     मर्दी न्युज    
     फागुन १७ गते २०७६ मा प्रकाशित


पोखरा, १७ फागुन । ‘नेपाल भ्रमण वर्ष २०२० को सान, पहाडकी महारानी मिर्लुङकोटको पहिचान’ नारासहित आयोजित पाँचौं मिर्लुङकोट महोत्सव शुक्रवारबाट शुरु भएको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरे ।

मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनको राजधानी भएको बताए । उनले ग्रामीण पर्यटनका साथै सयौँ होमस्टे, दर्जनौं जातजातिका सांस्कृतिक गाउँहरु, प्राकृतिक गुफाहरु, जलविहारको लागि प्रसिद्ध मादी, सेती, कालीगण्डकी र मस्र्याङ्दीलगायतका नदीहरु, हिमाल, ऐतिहासिक मठ, मन्दिर, माउण्टेन वाइकिङ्का लागि प्रसस्त ग्रामिण सडकहरु भएको चर्चा गर्दै विभिन्न जातजातिको कला र संस्कृतिका साथै प्राकृतिक एवं जैविक सम्पदाले गण्डकी प्रदेशलाई महत्वपूर्ण स्थान बनाएको बताए ।

उनले मिर्लुङकोटलाई धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक पर्यटकीय स्थलको अकर्षक गन्तव्यका रुपमा विकास गर्दै स्थानीय बासिन्दालाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने योजना बनाइएको उल्लेख गरे ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण तनहुँ पर्यटनका लागि उत्कृष्ट गन्तव्यका रुपमा लिन सकिने बताउदै देवघाटधाम, छिम्केश्वरी, छाव्दी, ढोरबाराही, थानीकोथान जस्ता धार्मिक स्थल र तनहुँसूर, ऋषिङ्ग रानीपोखरी, मिर्लुङ्गकोट जस्ता ऐतिहासिक धरोहरलाई समेत यसै जिल्लाले समेटेको र यसको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए ।

यसैगरी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले मिर्लुङ्गकोट ऐतिहासिक तथा धार्मीक हिसाबले महत्वपूर्ण रहेको चर्चा गर्दै मिर्लुङ्गकोटलाई पर्यटकको प्रमुख आकर्षणको केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए ।

तनहुँसहित तीन जिल्ला जोड्ने पर्यटकीय क्षेत्र मिर्लुङकोट पदमार्गको प्रवद्र्धनका लागि शुक्रवारबाट शुरु भएको पाँचौं महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।

महोत्सवमा विभिन्न जातजातिको झाँकीसहित स्थानीय कृषि उत्पादनसमेत प्रदर्शनी राखिएको महोत्सवका संयोजक लम्सालले बताए । मिर्लुङकोट महोत्सवमा प्याराग्लाइडिङ, सांस्कृतिक ग्रामको भ्रमण, जडिबुटी प्रदर्शन आदि महोत्सवको थप आकर्षक रहेको उनले बताए ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घाबाट सुरु भई जिल्लाका पर्यटकीय क्षेत्रहरू बसन्तपुर, चोक चिसापानी, मिर्लुङ, पुलिमराङ हुँदै लमजुङको जिता, भोर्लेटार तथा कास्कीको रुपाताला र बेगनासतालसम्म पुग्ने पदमार्गको प्रमुख भाग मिर्लुङ क्षेत्रमा पर्दछ । महोत्सव सांस्कृतिक सम्पदा र पर्यटकीय दृश्यावलोकनका लागि धनी मानिएको मिर्लुङकोटको रानीपोखरीमा आयोजना गरिएको छ ।