अन्नपूर्ण हिमपहिरोमा हराएका परियारको शव परिवारलाई बुझाइयो

-


     मर्दी न्युज    
     १७ फाल्गुन २०७६ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १७ फागुन । अन्नपूर्ण पदमार्गमा गत माघ ३ मा आएको हिमपहिरोमा पुरिएर वेपत्ता भएका ७ मध्ये सरोज परियारको शव शनिबार परिवारलाई बुझाइएको छ । अन्नपूर्ण पदमार्गको हिङ्कु केभ र देउरालीको बीचमा हिउँ पहिरोमा परेर ज्यान गुमाउन पुगेका चितवनका सरोज परियारको शब आज शनिबार बिहान ११ बजे पोखरा ल्याइएको थियो ।

शुक्रवार नेपाली गाइड सरोज परियारको शव भेटिएको र मौसमको खराबीले पोखरा ल्याउन सकेको थिएन । सुबास थापा मगर, बाबुराम बिक लगायत १२ जनाको उद्दार टोलिले ९ दिनसम्मको अथक प्रयास पछि ७ मध्ये एक जना सरोज परियारको शब फेला परेको हो । टान पश्चिमाञ्चल क्षेत्रीय संघको विशेष पहलमा एयर डाइनास्टीको हेलिकप्टरबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगि पोस्टमार्टम पश्चात परियारको शव उनको परिवारलाई जिम्मा लगाई आजै गृह जिल्ला चितवन पठाइएको छ ।