आगामी चैतमा हुने एसईई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५८० परीक्षार्थी सम्मिलित हुने

-


     मर्दी न्युज    
     १८ फाल्गुन २०७६ मा प्रकाशित


फोटोः पदम घले

पोखरा । आगामी चैत ६ गतेबाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट ४७ हजार ५ सय ८० विद्यार्थीले एसईई दिँदै छन् । शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक तिलकप्रसाद सिलवालका अनुसार गण्डकी प्रदेशमा एसईई परीक्षाका लागि २ सय २० परीक्षा केन्द्र तोकिएको छ ।

गण्डकी प्रदेशको कास्की जिल्लाबाट २०७६ सालको एसईई परीक्षामा सम्मिलित परीक्षार्थी सबैभन्दा धेरै संख्या रहेको छ भने सबैभन्दा थोरै मनाङको रहेको छ । ३२ परीक्षा केन्द्र तोकिएको कास्की जिल्लाबाट एसईई परीक्षामा सम्मिलित परीक्षार्थीको संख्या १० हजार ८४४ रहेको छ भने एउटा मात्र परीक्षा केन्द्र रहेको मनाङबाट ५२ जना मात्र परीक्षामा सम्मिलित हुनेछ । यसै गरी अर्को एक मात्र परीक्षा केन्द्र रहेको मुस्ताङबाट १३६ जना परीक्षार्थी यसपटक सम्मिलित हुँदैछन् ।

यसैगरी गोरखाका २५ परीक्षा केन्द्रबाट ४ हजार ५३९ जना, १८ केन्द्र तोकिएको लमजुङबाट ३ हजार १०२, २४ केन्द्र रहेको तनहुँबाट ६ हजार २८०, ३५ परीक्षा केन्द्र तोकिएको स्याङ्जाबाट ५ हजार ८२३, ९ परीक्षा केन्द्र रहेको म्याग्दीबाट २ हजार ४१७, ३१ परीक्षा केन्द्र रहेको बागलुङबाट ५ हजार ६७, पर्वतका १९ केन्द्रबाट २ हजार ६७० र नवलपुर (सुस्तापूर्व)का २५ परीक्षा केन्द्रबाट ६ हजार ६५० जनाले २०७६ सालको एसईई परीक्षामा सम्मिलित हुने निर्देशनालयका शाखा अधिकृत खेमराज पौडेलले मर्दीन्यूजलाई बताए ।

परीक्षा आगामी चैत ६ गतेबाट शुरु भई चैत १७ गतेसम्म सञ्चालन हुनेछ ।