सचेतना जगाउन पोखरामा र्यालीसहित भाइरसको संक्रमणबाट निधन भएकाहरुको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

-


     मर्दी न्युज    
     फागुन १९ गते २०७६ मा प्रकाशित


mardi news

पोखरा, १९ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरस विश्वका धेरै मुलुकमा फैलिदै गएकोले सचेतना जगाउन पोखरामा र्यालीसहित कोरोना भाइरसको संक्रमणबाट निधन भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

कोरोनाभाइरस संक्रमण विश्वका धेरै मुलुकमा फैलिदै गएको र त्यसबाट धेरैले अकालमा ज्यान गुमाएको भन्दै निधन भएकाहरुको सम्झनामा सोमबार साँझ पर्यटकीय शहर लेकसाइडको बाराहीचोकमा दीप प्रज्वलन गरिएको हो ।

पोखरेली जनता, चिनियालगायत अन्यदेशका पर्यटकहरु कोरोनाभाइरसको संक्रमण छिट्टै नियन्त्रणमा भई सबै स्वस्थ रहुन भन्ने कामना गर्दै प्लेकार्डसहित र्यालीमा सहभागी भएका थिए ।

र्यालीपछि सभामा परिणत भएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले छिमेकी मुलुक चीनमा परेको यो विपतको बेला पोखरेलीहरु पनि उनीहरुको साथमा रहेको बताए । कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिदै गएका बेला यसले नेपाल पनि प्रभाव पार्न सक्ने भएकाले पूर्व सावधानी आवश्यक भएको जनाए ।

‘चीन हार नमान्नुहोस् ! वुहान हार नमान्नुहोस् !! दुःख सुखमा हामी नेपाली साथ छौं’ भन्ने नारासहित छिमेकी देशमा परेको विपद र महामारीका बेला सिंगो नेपाल र पोखरेलीहरु पनि एक भएको सन्देश दिन सचेतना र्यालीसहित, दीप प्रज्वलन र हस्ताक्षर संकलन गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

ऐक्यवद्धतासहित पोखरामा संकलन गरिएको हस्ताक्षर वुहान प्रान्तका मेयरलाई चिनिया राजदुतावासमार्फत पठाउने परिषद्का महासचिव डील्ली प्रसाद गौतमले जानकारी दिए । पोखरा पर्यटन परिषदको अगुवाईमा गरिएको कार्यक्रममा पोखरेली, चाइनिजलगायत अन्य देशका पर्यटकहरु सहभागि भएको परिषद्का उपाध्यक्ष गोपी भट्टराईले जनाए ।

फोटोः खड्ग गुरुङ र गंगा घले