मिर्गौला प्रत्यारोपण लागि प्रधानमन्त्रीलाई आवश्यक औषधि दिन थालियाे

-


     मर्दी न्युज    
     २० फाल्गुन २०७६ मा प्रकाशित


काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । मंगलबार दिउँसो प्रेस विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ओलीको विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत जानकारी दिइएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको जानकारी गराएका हुन् ।

‘आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मिर्गौला प्रत्यारोपण तयारीका लागि यस अस्पतालमा भर्ना हुनुभएको दोस्रो दिन । उहाँलाई प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन सुरु गरिएको छ’, प्रा.डा. खड्गाले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘साथै, विभिन्न विषयका विशेषज्ञहरुबाट उहाँको स्वास्थ्य परीक्षण गरिएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गरिने क्रम जारी छ ।’

पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो ।