फाइल तस्विर
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण सफल भएको छ ।
त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवाली, युरोलोजिष्ट डा. उत्तम शर्मा, डा.पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको हो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.अनन्तकुमार पनि सहभागी थिए । भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिएका थिए ।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएको थियो । उनको प्रत्यारोपण अघि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।
प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा कोइरालाले मिर्गाैला दान गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।