
पोखरा, २२ फागुन । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकप फुटबलमा आयोजक सहाराले विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा साहाराले ब्रिगेड ब्वाइजलाई ३–२ गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा सहाराका खेलाडी २७ औं मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो । सहाराका जीवन रायमाझीले दोहोरो पहेँलोसँगै रातो कार्ड पाएका थिए । तर ब्रिगेडले त्यसको फाइदा उठाउन सकेन । दुई पटक लिएको अग्रता पनि जोगउन सकेन ।
पहिलो हाफ अगाडिको खेलमा दुवैतर्फबाट कुनै गोल हुन सकेन । खेलको ५७ औं मिनेटमा राजेश परियारले गोल गर्दै ब्रिगेड ब्वाइजलाई अग्रता दिलाए । तर चार मिनेटपछि नै सहाराका लागि क्यामरुनका खेलाडी सिवीले बराबरी गोल फर्काए । कमल थापाको फ्रि किकमा सिवीले उत्कृष्ट हेड गोल गरेका हुन् ।
यसैगरी ६२ औँ मिनेटमा ब्रिगेटका विजय गुरुङले गोल गरे । यो अग्रता पनि धेरै समय भने टिक्न सकेन । ७८ औँ मिनेटमा सहाराका त्रिदेव गुरुङले गोल गर्दै बराबरीमा पुर्याए ।
निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयको सदुपयोग गर्दै सहाराका त्रिदेव गुरुङले १२ औं मिनेटमा एक गोल थप्यो । अतिरिक्त समयमा भएको गोलले नै सहारालाई विजयी बनायो ।
शुक्रबार नेपाल एपीएफ क्लब र झापा ११ बीच हुनेछ ।
१८ औं संस्करणको आहा रारा गोल्ड कपमा एक विदेशीसहित १० टिम सहभागी छन् । प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ ।