लैङ्गिक हिंसा तथा बाल दुर्व्यवहारसम्बन्धी सचेतना कार्यक्रम

-


     मर्दी न्युज    
     फागुन २२ गते २०७६ मा प्रकाशित


mardi news

पोखरा, २२ फागुन । पुतलीबजार नगरपालिकाद्वारा सञ्चालित नगर विकास अन्तर्गत लैंगिक हिंसा, बाल यौन दुर्व्यवहार तथा बालविवाहसम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार पुतलीबजार नगरपालिका वडा नं. १२ स्थित पेल्काचौरमा भएको कार्यक्रममा प्राकृतिक र सामाजिक रुपमा लिङ्गबीच हुने विभेद, कुरीति तथा विसंगतिहरुको अन्त्य गरी सबै नागरिक समान रुपमा बाँच्न पाउने वातावरणको सृजना गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष दूतप्रसाद गुरुङले बताए ।

समाजमा परम्परागतदेखि चल्दै आएको चलनचल्ती तथा रीतिरिवाजले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेकोले त्यसलाई हटाउन वक्ताहरुले आग्रह गरे । महिलाहरुमा हुने महिनावारीको समयमा गरिने व्यवहार, बालबालिका तथा बृद्धबृद्धालाई गरिने दुर्व्यवहारले हिंसा, बलात्कार तथा हत्या जस्ता घट्ना घटाउन प्रोत्साहन मिलेकोले यसतर्फ समाजको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख ठगी खनालले सहजीकरण गरेका थिए । उनले समाजमा विद्यमान चालचलने पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर परेको हुँदा त्यसलाई परिमार्जन गर्नुपर्ने बताए । खनालले लैङ्गिक हिंसा, बाल यौन दुर्व्यवहार र बाल विवाहबाट हुने असरबारे प्रकाश पारेका थिए ।

वडाअध्यक्ष दूतप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावकसहित ४० जनाको सहभागिता रहेको थियो ।