
तस्विरः एजेन्सी
एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा बिहीबार थप ४१ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा यसको कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । कोरोना भाइरसका कारण चीनबाहिर भएको सबै भन्दा धेरै ज्यान गुमाउने देशमा इटली परेको छ ।
यसैगरी कोरोनाभाइरसका कारण ज्यान गुमाउने राष्ट्रमा तेस्रो स्थानमा इरान रहेको छ । इरानमा कोरोनाभाइरसका कारण हालसम्म १ सय ७ जनाले ज्यान गुमाइसकेको सञ्चारमाध्यमले जनाएको छ ।
संसारभर हालसम्म ३ हजार ३ सय जनाभन्दा बढीको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९७ हजार भन्दा बढी व्यक्तिहरु यसबाट संक्रमित भएका छन् ।
इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ । इटलीमा मात्र भाइरस संक्रमितको संख्या ३ हजार २९६ पुगेको पुष्टी भएको छ ।
यसैगरी इरानमा पनि भाइरस संक्रमितको संख्या ३ हजार ५१३ पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ ।
संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ । उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ ।
यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो मामिला सार्वजनिक भएको छ भने सयभन्दा बढी यसबाट प्रभावित भएको सञ्चारमाध्यमले जनाएको छ । बेलायतमा बिहीबार मृत्यु भएको हो ।
यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएको पुष्टि भएको छ ।