आयोजक सहारालाई हराउँदै पुलिस सेमिफाइनलमा

-


     मर्दी न्युज    
     फागुन २४ गते २०७६ मा प्रकाशित


पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टिम पुलिस आहा ! रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा पुलिसले सहारालाई टाईब्रेकरमा ४–२ ले पछि पार्यो । घरेलु टोलीले दुई पेनाल्टी खेर फालेपछि पुलिसले खेल आफ्नो पक्षमा पारेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाईब्रेकरमा गरिएको हो ।

विभागीय टिम पुलिसका कप्तान भोला सिलवाल अतिरिक्त समयमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पुलिसका १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ७५ औं मिनेटमा भरत साहको गोलमार्फत पुलिसले खेलमा अग्रता लिएको थियो भने सहाराका अजय श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंग्याएका थिए । अतिरिक्त समयमा दुवैटोलीबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा लगिएको हो ।

भोलि आईतबार मनाङ मस्र्याङ्दी क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।