पोखरा । हरेक वर्ष मार्च ८ तारिखको दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउने गरिन्छ । विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिक लगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ ।
नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ । महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी व्यवस्था गरेको छ । सो हकमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भनी व्यवस्था गरेको छ । संघीय नेपालको संविधान जारी भएपछि राज्यको हरेक निकायमा एक तिहाइ महिला सुनिश्चित गर्नु पर्ने व्यवस्था रहेको छ ।
महिलालाई संरक्षण गर्ने धेरै कानून बनेको भएता पनि प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन । त्यसले गर्दा अहिले पनि महिलाले आफ्नो अधिकारको उपयोग गर्न पाएका छैनन् । त्यसो त नेपालमा कानूनी रुपमा सुधारका प्रयास भने नभएका होइनन् ।
नेपालमा पनि महिला र पुरुष गरी करिव ७० लाख ८६ हजार जनसंख्या रोजगारमा रहेका छन् । देशको आधाभन्दा बढी नेपाली महिलाहरुको जनसंख्या रहेको छ ।
आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसमा न्यून आय भएका वर्गको बारेमा केही बुझ्ने प्रयास ग¥यौं । वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी गर्नेहरुबाहेक मुलुकमा श्रमिक, मजदुर, किसान तथा न्यून आय भएका वर्गका महिलाहरुलाई भने यस दिवसले छोएको पाएन ।
श्रमिक वा मजदूरको शाब्दिक अर्थ खोज्ने हो भने काम गर्ने, श्रम गर्नेलाई मजदूर या श्रमिक भनिन्छ । मजदूर वा श्रमिकको अर्थ हो कर्मयोगी । जो आफ्नो जिन्दगी समग्रतामा अरुको हितमा समेत उपयोगमा ल्याउँछ तिनै हुन् मजदर, श्रमजीवी वा कर्मयोगी । यस अर्थमा मजदूर नै संसारका सबभन्दा ठूलो वर्गभित्र पर्नुपर्ने हो तर मजदूर या महिला श्रमिकको अवस्था जहिले पनि सीमित व्यक्तिमा बाहेक राजनीतिक नाराको विषय मात्र बन्यो ।
आज ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईरहँदा पोखराको रामघाटमा काम गर्ने अधिकांश वास्तविक श्रमिक महिलालाई भने दिवसले छुन सकेन । उनीहरुका अनुसार आफूहरुलाई यस दिवस वारेमा कुनै थाहा नभएको बताए । आज बिहानैदेखि ढुङ्गा बालुवा उत्खनन् गर्ने काम गर्दै आएका महिलाहरुले महिला दिवस बारे अनभिज्ञता व्यक्त गरे ।
तस्विरमा हेरौं पोखराको रामघाटस्थित काम गरेका महिलाहरु । तस्विरः खेम गुरुङ