आज होली, होली खेले कोरोनाको जोखिम

-


     मर्दी न्युज    
     फागुन २६ गते २०७६ मा प्रकाशित


पोखरा, २६ फागुन । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रंग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिबिधि नगर्न आग्रह गरेको छ ।

डाक्टरहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् । भिडभाडमा जाँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन उनीहरुको आग्रह छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

विगत वर्षमा होली पर्व आउँदा तापक्रम बढिसकेको हुन्थ्यो । तर यसपटक भने मुलुकभर चिसो घटेको छैन । चिसो मौसममा पानीमा भिज्दा ज्वरो आउने तथा रुघाखोकीले सताउने सम्भावना पनि उच्च रहने चिकित्सकको भनाइ छ । यसले निमोनिया समेत निम्त्याउन सक्छ । रुघाखोकी लागेपछि शरीर कमजोर हुने र कमजोर शरीरमा कोरोनाले समेत सजिलै आक्रमण गर्न सक्ने जानकारको भनाइ छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । तराईमा भने मङ्गलबार होली मनाइँदै छ ।