
पोखरा, २६ फागुन । में त्हलें दिवसको अवसरमा आयोजित सामुहिक आर्चरी प्रतियोगितामा शान्ता तमु समाजले जीत हासिल गरेको छ ।
तमु प्ये ल्हु संघ कास्की जिल्लाले आज सोमबार संघको परिसरमा आयोजना गरेको छैठौं अन्तर तमु समाज में त्हलें प्रतियोगितामा उक्त समाजले ६७ अंक ल्याई प्रथम स्थान हात पारेको हो ।
यसैगरी तमु प्ये ल्हु संघमा आबद्ध ८ वटा तमु समाजले भाग लिएको यस प्रतियोगितामा कुल अंक ६२ सहित तमु हे तमु समाजले दोस्रो स्थान हासिल गरे । प्रथम तथा द्वितीय हुनेले क्रमशः नगद १५ हजार र १० हजार हात पारे ।

यसैगरी स्याङ्जाली तमु समाजले कूल ४६ अंक ल्याई नगद ७ हजारसहित तेस्रो स्थानमा सीमित रह्यो । प्रतियोगितामा क्होंला दीप तमु समाजले ३८ अंक ल्याई सान्त्वनामा सीमित रह्यो । यस दीप तमु समाजले नगद ५ हजार हात पारे ।
यसैगरी आजै भएको एकल में त्हले प्रतियोगितामा १२ जनाको सहभागि रहेको खेलमा शिव तमु प्रथम भएका छन् । त्यस्तै धनराज तमु द्वितीय, सुरज तमु तृतीय र निम प्हच्यु तमुले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । विजेता खेलाडीहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
तमु प्ये ल्हु संघ कास्की जिल्लाको आयोजनामा भएको कार्यक्रममा १२ कक्षा उत्तीर्ण तमु विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । संघका अध्यक्ष उमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निम प्हच्यु तमुले गरेका थिए ।