पोखरा, २७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन जारी गरेअनुसार आज (मंगलबार)बाट चालू शैक्षिक सत्रको अन्तिम परीक्षा सुरु हुँदैछ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को त्रासले गर्दा चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन दिएको थियो ।
मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), नेसनल प्याब्सन, अभिभावक महासंघ, शिक्षक महासंघलगायत सरोकार पक्षसित छलफल गरी दिएको निर्देशन दिएको हो । यसवर्ष कोरोनाका कारण शैक्षिक सत्रको तालिकाअनुसार विगतभन्दा एक साताअघि परीक्षा सञ्चालन हुने भएको हो ।
आधारभूत तह कक्षा ८ को परीक्षा पालिकाअन्तर्गत लिइनेछ भने अरु कक्षाको परीक्षा विद्यालयले आफ्नो अनुकुल लिनेछन् । त्यसलगत्तै चैत ६ गतेबाट १६ गतेसम्म माध्यमिक विद्यालय परीक्षा (एसईई) हुनेछ । एसईईमा ४ लाख ६६ हजार नियमित र १६ हजार ग्रेड वृद्धिसहित ४ लाख ८२ हजार परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।