तमु प्ये ल्हु संघले विश्व शान्तिको कामना गर्दै ट्हो त्हें गर्ने

-


     मर्दी न्युज    
     २७ फाल्गुन २०७६ मा प्रकाशित


mardi news

पोखरा, २७ फागुन । विश्वव्यापी फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई रोक्न तमु प्ये ल्हु संघले सम्पूर्ण प्राणी जगतको रक्षाको लागि विश्व शान्तिको कामना गर्दै ट्हो त्हें गर्ने भएको छ । आगामी चैत महिनाको पहिलो मंगलवार ट्हो त्हें आयोजना गरेको तमु प्ये ल्हु संघका महासचिव हर्क गुरुङले बताए ।

परम्परागत रुपमा गाउँघरमा ट्हो त्हें गरी रोगव्याधीबाट मुक्त हुने तथा लगाएको अन्नबाली जोगाउन एवम् सम्पूर्ण प्राणी जातिको रक्षको लागि दैवि शाक्तिको प्रयोग गर्दै पच्यु, क्ल्हेप्री र वोन्पो लमले ट्हो त्हें गर्दै आइरहको सन्दर्भमा हाल विश्वव्यापी फैलिएको कोरोनाभाइरस संक्रमण रोकथाम गर्नको लागि पनि ट्हो त्हें गर्न लागेको संघका महासचिव गुरुङले बताए ।

‘थाकु, मोकु, रीकु र चैंकु (भूतप्रेत, पिचाश, सुक्ष्म जीवजन्तु तथा विभिन्न रोगव्याधी) नलागोस् र जीउधन, अन्नबाली संरक्षण र सम्पूर्ण प्राणी जगतको रक्षाका लागि तमुको मौलिक पुरोहितहरु पच्यु, क्ल्हेप्री र वोन्पो लमले ट्हो त्हें गर्छ’, उनले भने, ‘हामी सम्पूर्ण प्राणी जगतलाई सुरक्षित राख्न ४०÷५० जनाको खेगीगुरुहरुबाट यसपटक ट्हो त्हें गर्ने निर्णय गरिएको छ ।’

महासचिव गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट अक्षता, सद्विज, पानी ल्याई ट्हो त्हें शुरु गरिने बताए । त्यसको लागि संघले आवश्यक पहल भइरहेको पनि उनले जानकारी दिए । चैत ४ गते मंगलवार पच्युले खिमी त्हें, क्ल्हेप्रीले थासो तथा सिर्गेम त्हें वोनलमले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । सोही दिन वोन्पो लमले छ्योत्रे स्थापना पनि गर्ने उनले जनाए ।

कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, मनाङलगायतका गुरुङ वस्तीहरुमा परम्परादेखि ट्हो त्हें गर्दै आइरहेको पाइन्छ । गाउँघरमा गरिने ट्हो त्हेंमा प्रत्येक घरबाट अक्षता, नौ थरी बीउविजन लगी यज्ञमा सामेल गरिन्छ । त्यसबाट जीउधनको सुरक्षा हुने, रोगव्याधी नलाग्ने र गाउँघर तथा सम्पूर्ण प्राणीजगतको रक्षा हुने गुरुङहरुमा जनविश्वास रहेको पाइन्छ ।