
काठमाडौ, २८ फागुन । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरुले विशेष निगारनी राख्न सरकारलाई सुझाव दिएका छन् ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सो सुझाब दिइएको हो ।
बैठकमा दलका प्रतिनिधिहरूले पहिलो नम्बरमा संक्रमितको हुन सक्ने प्रवेश प्रति निगरानी र सतर्कता बढाउन र केही गरी संक्रमण फैलिहालेमा त्यसको उपचार लगायतको कामका लागि पूर्ण रुपमा पूर्व तयारी गर्न सुझाव दिएको बैठकपछि दलका नेताहरुले बताए ।
कोरोना भाइरसको संक्रमण फैलिएमा त्यसको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको सुरक्षा तथा उनीहरूलाई दिइने बीमा लगायतक सुविधाहरूको बारेमा पहिले नै स्पष्ट हुनुपर्ने दलका नेताहरुले सुझाव दिए ।
बैठकमा सत्तारुढ दलका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल तथा माधवकुमार नेपाल तथा नेपाली काँग्रेसका तर्फबाट बालकृष्ण खाँड, गगन थापा, त्यस्तै अन्य नेताहरुमा महन्त ठाकुर, राजेन्द्र महतो बैठकमा सहभागी थिए ।