
सांकेतिक तस्विर
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटस्थित कुमालटारीमा चितुवाको आक्रमणमा परी ९ वर्षीय बालक गम्भिर घाइते भएका छन् । बुधबार साँझ करिब ८ः१५ बजेको समयमा चितुवाले आक्रमण गर्दा ९ वर्षीय अनुप नेपाली घाइते भएका हुन् ।
घर नजिकै छिमेकीको घरमा भएको विवाहको कार्यक्रम हेरेर आमा र अन्य बालबालिकासंगै घर तर्फ फर्कदै गर्दा चितुवाले अचानक आक्रमण गरेको थियो । आमासंगै भएकाले तत्कालै हारगुहार गरी चितुवाबाट बालकलाई छुटाउन सकिएको आमा मिरा नेपालीले बताए ।
चितुवाले आक्रमण गर्दा बालकको घाँटीमा गम्भिर चोट लागेको र उनको डुम्र स्थित मोती मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
जिल्लामा २ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ९ बालबालिकाको मृत्यु भइसकेको छ । यस्तै, चितुवाकै आक्रमणबाट ४ जना बालबालिका घाइते भएका छन् ।