
पोखरा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड–१९ को रोकथामका लागि युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
बुधबार टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले ३० दिनका लागि प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । यो प्रतिबन्ध बेलायतको हकमा भने लागु नहुने उनले बताएका छन् । यो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागु हुनेछ ।
अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १३५ छ । यसैको कारण ३८ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार भन्दा बढी पुगिसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै चीन, इटाली, इरान र कोरियामा पाइएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ ।