
एजेन्सी । चीनले कोरोनाभाइरस (कोभिड–१९)को उच्च जोखिम सकिएको जनाएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् ।
उनले नयाँ संक्रमण नदेखिएको र प्रकोप घट्दै गएको पनि फेङले बताए । प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको बताए ।
चीनको हुबेइस्थित वुहान शहरबाट फैलिएको भनिएको कोरोना संक्रमणका कारण बुधबार हुबेईबाहिर जम्ममा ७ जनामा संक्रमण देखिएको र त्यसमध्ये पनि ६ जनामा आयातित संक्रमण भएको उनले जानकारी दिए । चीनमा बुधबार ११ जनाको मात्रै मृत्यु भएको छ । बिहीबारसम्म चीनमा ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या १ लाख ३० हजार पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म विश्वर चार हजार भन्दा बढीले ज्यान गुमाएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस आद्नोम घेब्रेयाससले चीनबाहिर मात्रै पछिल्ला दुई हप्ताभित्र संक्रमण दर १३ गुणाले बढेको बताएका छन् । विश्वभर कोरोनाको जोखिम बढेपनि चीनमा भने कोरोनाको संक्रमण कमी आएको छ ।
डब्ल्यूएचओका अनुसार अहिलेसम्म कोरोना विश्वका १०० भन्दा देशहरुमा फैलिइसकेको बताएको छ ।