कोरोना भाइरसको असरः सुनसान घलेगाउँ

-


     मर्दी न्युज    
     ३० फाल्गुन २०७६ मा प्रकाशित


सांकेतिक फोटोः गंगा घले

गंगा घले
घलेगाउँ । पर्यटकले भरिभराउ हुने मौसमको सुरूवातमै कोरोनाको असरले पर्यटकीय गतिविधि ठप्प छ । नेपालका अधिकांश होटल तथा रेष्टुरेण्ट खाली छन् । ट्रेकिङ गाइडहरु फुर्सदिला बनेका छन् । साहसिक खेल र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप फ्लाएर, क्यानोनिङ आदि गतिविधिमा कोरोनाको असर प्रष्ट देखिन्छ । यी गतिविधिहरु प्राय शुन्य जस्तै बनेको छ ।

यसैगरी आन्तरिक पर्यटकको चहलपहल हुने घरबासमा समेत यतिबेला पर्यटक आउन छाडेका छन् । सार्क राष्ट्रमै नमुना गाउँको रुपमा चिनिएको पर्यटकीय घलेगाउँमा पनि कोरोनाको असर देखिएको छ । विदेशी पर्यटकसहित आन्तरिक पर्यटकको समेत चहलपहल हुने घलेगाउँको घरबासमा यतिबेला पर्यटक आउन छाडेका छन् । बुकिङ धमाधम रद्द गरिएका छन् ।

करिब दुई साता अघिसम्म बिदाको दिन करिब दुई सय पर्यटक आएको घलेगाउँमा यतिखेर ठप्प छन् । पर्यटकको नाउँमा तीन दिनअघि १० जनाको इटालियन समूह मात्र रहेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले बताए । उनका अनुसार आन्तरिक पर्यटकले घरबासमा गरेको सबै बुकिङ रद्द भएको छ । ‘पोखरा, काठमाडौंका पर्यटकको बुकिङ थियो, सबै क्यान्सिल भयो,’ उनले भने । घलेगाउँका ३८ घरबासमा दुई सय पर्यटक अट्ने क्षमता छ ।

यसैगरी काउलेपानी, राइनासकोट, भुजुङ, सिउरुङ, खानीगाउँ, खासुर, नरुवल, तुर्लुङकोट, पसगाउँ, घनपोखरालगायत गाउँका घरबासमा पनि पर्यटक आगमन घटेको स्थानीयले बताएका छन् ।