
काठमाडौं, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमन गराउन व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसैगरी सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति पनि अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
यसैगरी अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ ।
यसअघि नेपाल सरकारले दक्षिण कोरियामा मात्र मार्च महिनाभरका लागि कामदारहरु नपठाउने निर्णय गरेको थियो । नेपालीका श्रम गन्तव्य मुलुकहरुसमेत कोरोना भाइरसबाट आक्रान्त भएपछि नेपाल सरकारले श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।
शनिबारपछि नेपाल भित्रिने विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’ मा १४ दिन बस्नुपर्ने भएको छ । व्यावसायिक, अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीले पनि नेपाल भित्रिएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने समितिको निर्णय छ ।
विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।