चैतको ४ गते तमु प्ये ल्हु संघमा ट्हो त्हें गरिने

-


     मर्दी न्युज    
     ३० फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, ३० फागुन । विश्व शान्तिको कामना तथा महामारीका रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाईरस रोकथाम गर्ने उद्देश्य सहित तमु प्हे ल्हु संघ केन्द्रीय समितिले ‘ट्हो त्हेँ पूजा’ गर्ने भएको छ ।

प्रत्येक वर्ष पच्युद्वारा प्युरु त्हें गर्दै आएको संघले यसवर्ष चैतको पहिलो मंगलबार (४ गते) तीनवटै खेगी पुरोहितहरु राखेर संघको परिसरमा ट्हो त्हें पूजाको आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।


ट्हो त्हें पूजामा करिब ५० जना तमु धर्म गुरुहरुद्वारा गरिने संघका महासचिव हर्कबहादुर तमुले बताए । महासचिव तमुले हरेक वर्ष चैत महिनाको पहिलो मंगलवार पूजा (यज्ञ) गरिदै आएको बताउदै यसवर्ष तीनवटै धर्म गुरुहरु राखी ट्हो त्हें गर्न लागेको जानकारी दिए । उनले पछिल्लो समय विश्वभर फैलिरहेकको कोरोना भाईरस रोकथाम गर्ने उद्देश्य रहेको बताए ।

तमुले गण्डकी प्रदेशका पच्यु, क्ल्हेप्री तथा वोन्पो लम र पैंडीहरुद्वारा उक्त पूजा गरिने बताए । पच्युले खिमी त्हें, क्ल्हेप्रीले थासो त्हें र वोन्पो लमले सिर्गेम त्हें गरी छ्योत्रे स्थापना गरिने समेत महासचिव तमुले जानकारी दिए । उनले गाउँघरमा ट्हो त्हेँ गरी रोगव्याधीबाट मुक्त हुने तथा लगाएको अन्नबाली जोगाउने एवं प्राणीजगत रक्षा हुने विश्वास रहेको उल्लेख गरे ।

उक्त यज्ञमा गण्डकी प्रदेश मुख्यमन्त्री परिषदको कार्यालयबाट अक्षेता पानी लगि यज्ञमा राखिने बताउदै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थिति समेत रहने तमुले बताए । उक्त पूजा सम्पन्न गर्न करिब ७ लाख लाग्ने आयोजकले जनाएको छ ।