कोरोनाभाइरस: महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७६ मा प्रकाशित


एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेसँगै अमेरिकाले पनि यसको रोकथामका लागि अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।

संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ ।

शुक्रबार नै पत्रकारहरुसँग कुरा गर्दै उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरे । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिए ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू भएको छ ।

कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो ।
अमेरिकामा १ हजार ७०१ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ ।