
पोखरा, १ चैत । विभागिय टिम नेपाल पुलिस क्लबलाई ४–३ गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको उपाधी जितेको छ ।
आज शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब उपाधि उचालेको हो ।
उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो ।
टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे भने मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए ।
पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे ।
पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए । खेल अतिरिक्त समयमा धकेलिनु अघि दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।