कोरोना नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध, सचेतना जगाउन मिडियाकर्मी लाग्नुपर्नेः मुख्यमन्त्री गुरुङ

-


     मर्दी न्युज    
     १ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई सचेतना जगाउन सबै मिडियाकर्मी लाग्न आह्वान गरेका छन् ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले कोरोनाको संक्रमण फैलिएर व्यक्ति विशेष भनेर नछुट्याउँने बताउँदै सबैले मिलेर जनतालाई तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

‘यो युद्धको बेला हो, युद्धमा सिपाही मात्र मर्दैन, कमाण्डर मात्र पनि मर्दैन,’ उनले भने, ‘त्यसैगरी कोरोनाले मुख्यमन्त्री, सिडियो, पत्रकार भनेर छुट दिंदैन, यस्तो संगीन अवस्थामा सबै मिलेर लाग्नुपर्छ ।’

सामाजिक सञ्जाललगायत कतिपय मिडियाले जनतालाई त्रास फैलाउने काम गरेको बताउँदै त्रास फैलाउने नभई सचेतना जगाउने काम लाग्न मुख्यमन्त्री गुरुङले आव्हान गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन प्रदेश सरकारले आवश्यक तयारी गरिएको बताउँदै प्रतिकार्यका लागि प्रदेस सरकार प्रतिबद्ध रहेको बताए । उच्चस्तरीय निर्देशन समितिका संयोजक समेत रहेका मुख्यमन्त्री गुरुङले आवश्यक स्रोतसाधनको अधिकतम उपयोग गर्दै रोकथामको पूर्ण तयारी गरिएको बताए ।

उनले कोराना संक्रमणका नाममा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गरिने उल्लेख गर्दैै यस सम्बन्धमा अनुगमन प्रभावकारी बनाउने बताए ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना संक्रमण भित्रिन नदिन पूर्व सजगता अपनाइ सकिएको बताउँदै आवश्यक सम्पूर्ण तयारी गरिएको बताए । कोरोनाका सम्बन्धमा अफवाह फैलाउने भन्दा बढी सचेतना जगाउन सञ्चारमाध्यमको कर्तव्य भएको उल्लेख गरे ।