काठमाडौंबाट १७७ बोरा मास्क बरामद

-


     मर्दी न्युज    
     ३ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं । मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको हो । आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरज गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १ सय ७७ बोरा मास्क प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी आरजेडी सप्लायर्सले चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको देखिएकपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । शनिबारयता काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा लुकाएर राखेको १० लाख ९५ हजार थान माक्स बरामद गरेको छ ।

शनिबार र आइतबार बरामद गरिएको मास्क पनि गोयलले नै बढी मुल्य लिएर खुद्रा व्यापारीलाई बेचेको देखिएको छ । शनिबार र आइतबार पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा सतुंगलमा प्रहरीले छापा मारेको थियो ।

पक्राउ परेका विरूद्ध कालोवजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरि सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले डिलर वा एजेण्डलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।