
एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने व्यापक फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।
चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ५ सय ३ जना पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । इटालीमा निको हुनेको संख्या भने करिब २ हजार ९ सय ४१ रहेको छ ।
बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६९ हजार ७ सय १७ जना रहेको छ ।
त्यस्तै इटली पछि संक्रमितको संख्या इरानमा छ । बुधबार इरानमा पनि थप १३५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । इरानमा बुधबार बिहानसम्म ९८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार १सय ६९ पुगेको छ ।

मंगलबार इटालीपछि स्पेनमा सबैभन्दा बढी १९१ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार ८ सय ८४ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।
गएको पछिल्लो २४ घण्टामा फ्रान्समा २७, अमेरिकामा २३, नेदरल्यान्ड्समा १९, बेलायतमा १६, जर्मनीमा ९, स्विजरल्यान्डमा ८, दक्षिण कोरियामा ६, क्यानडामा ४, मलेसिया, इजिप्ट, इन्डोनेसिया र सान मारिनोमा २–२ जना तथा अस्ट्रिया, स्विडेन, जापान, पाकिस्तान, पोल्यान्ड, इराक, भारत, लेबनान, टर्की, अल्जेरिया, मोरक्कको र युक्रेनमा एक–एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
अमेरिकाको ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको त्यहाँको अधिकारीहरुले पुष्टी गरेको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेसँगै ५० वटै राज्यमा फैलिएको हो । अमेरिकामा १ सय १४ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ भने ६ हजार ४ सय ९६ जना यसको संक्रमित रहेको सञ्चारमाध्यमले जनाएको छ ।