
पोखरा । नेपाल सरकारले कोरोना भाइरस फैलिन नपाओस् भनेर सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरन्जनस्थल बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड –१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साँस्कृतिक केन्द्र, मनोरन्जनस्थल र रंगशालाहरू पनि अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
‘सिनेमा हल, साँस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने’ निर्णयमा भनिएको छ ।
यसैगरी बैठकले अत्यावश्यक काममा बाहेक आवतजावत र हिडडुल नगर्न आग्रह गर्दै सांस्कृतिक एवम् सामाजिक कार्यहरूमा पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेलाहुन बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले भोलिदेखि सञ्चालन हुने एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्ने र बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठन पाठन यही चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरू खरिद र अनावश्यक सञ्चय नगर्न अनुरोध गर्दै बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, कालो बजारी र मिसावट गर्नेलाई कानून बमोजिम कारवाही गर्ने निर्णय निर्णय गरेको छ ।
सरकारले आज गरेका १५ बुँदे निर्णयः सूचीसहित

