
पोखरा, ५ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी फैलिएसँगै प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा सरकारले रोक लगाउने भएको छ । मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले निर्णय गरेको हो ।
सरकारले कोरोना भइरस (कोभिड(१९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । ‘युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने’ समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य राती देखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने ।’
चीनको वुहानबाट डिसेम्बरदेखि फैलिएको कोरोना संक्रमण अहिलेसम्म १५९ देशमा पुष्टि भइसकेको छ ।
