
काठमाडौं, ७ चैत । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो । विस्फोट भएको दिन घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रमुख थापाले बताए ।
पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।
गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा प्रतिबन्धित बिप्लब समूहको संलग्न रहेको देखिए पछि सोही समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएको छ ।