
एजेन्सी । बिहीवार एकैदिन ४ सय २७ जनाको मृत्यु भएपछि इटाली कोरोनाभाइरसको संक्रमणबाट धेरै नागरिक गुमाउने राष्ट्र बनेको छ । बुधवार पनि इटलीमा ४ सय ७५ जनाको संक्रमणबाट ज्यान गएको थियो ।
इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । यो संख्या कोरोना भाइरसको उद्गमस्थल चीनको भन्दा बढी हो । इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।
चीनमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान गइसकेको छ ।
इटालीले कोरोना भाइरसको रोकथामका लागि हरसम्भव प्रयासहरू गर्दै आएको भएपनि मृतक र नयाँ संक्रमितको संख्या घटेको छैन । इटालीमा हालसम्म ४१ हजार ३५ जनामा यो संक्रमण देखिएको छ ।
देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इटालीले मार्च १२ देखि सुरु गरेको ’लक डाउन’लाई २५ मार्चसम्म बढाएको छ । उसले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक घरैभित्र बस्न भनेको छ ।
विश्वव्यापीरुपमा भने हालसम्म २ लाख २० हजारवटा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ हजार बढीले आफ्नो ज्यान गुमाइसकेका छन् ।
संक्रमण सुरु भएयता चीनले बुधबार पहिलोपटक कुनै नयाँ संक्रमित नभेटिएको बताएको छ । उसले देशभित्र नयाँ संक्रमित नदेखिएपनि विदेशबाट आएका ३४ जनामा भने यसको संक्रमण देखिएको जनाएको छ ।