कोरोनाभाइरस: युवाहरू जोखिममुक्त छैनन

-


     मर्दी न्युज    
     ८ चैत्र २०७६ मा प्रकाशित


एजेन्सी । स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न भनेको छ।

युवाहरूको व्यवहार ‘अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्ने’ डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन्।

संसारभर कोभिड-१९ का कारण ११,००० भन्दा धेरै मानिसको ज्यान गएको छ।

झण्डै २५०,००० मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ।

कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै देशहरूमा युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि डब्ल्यूएचओका प्रमुखको भनाइ आएको हो।

कोरोनाभाइरस सङ्क्रमण चीनबाट सन् २०१८ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ।

सबैभन्दा धेरै मानिसको ज्यान इटलीमा गएको छ जहाँ शुक्रवारसम्म ४,०३२ जनाको मृत्यु भइसकेको छ।

डब्ल्यूएचओको भनाइ

अनलाइन पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने: “धेरै उमेरका मानिसहरूलाई बढी प्रभावित पारेपनि यसबाट युवा जोखिममुक्त छैनन्”

“मसँग युवाहरूको लागि सन्देश छ: तपाईँहरू जोखिममुक्त हुनुहुन्न, यो भाइरसले तपाईँलाई हप्तौँसम्म अस्पतालमा राख्न सक्छ र मार्न पनि सक्छ। तपाईँ बिरामी नभएपनि तपाईँको के गर्ने भन्ने निर्णय अन्य व्यक्तिका लागि जीवन वा मरणको सवाल बन्न सक्छ।”

उनले वुहानमा नयाँ सङ्क्रमण नदेखिएको भन्दै चिनियाँ सहरको प्रशंसा गरे।

उनले यसले बाँकी विश्वका लागि आशा पैदा गरेको बताए।

के युवा जोखिममुक्त छन्?

अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको सङ्क्रमण हुनसक्ने देखाएको छ। तर वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक देखिएको छ

इटलीमा कोभिड-१९ बाट मृत्यु हुनेको औसत उमेर ७८.५ रहेको छ।

न्यूयोर्क टाइम्सका अनुसार चीनमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिको मृत्युदर एक प्रतिशतभन्दा कम छ। तर ८० वर्ष उमेर नाघेका १५ प्रतिशत मानिसमा यो घातक छ।

रोयटर्सका अनुसार डब्ल्यूएचओले यसको सङ्क्रमण रोक्न सामाजिक दूरीभन्दा पनि शारीरिक दूरी राख्नुपर्ने नयाँ सुझाव दिन थालेको छ। बिबिसी