काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २१ वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जानिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरी स्रोतले जनायो ।
युवकले काठमाडौंस्थित नर्भिक अस्पतालमा कोभिड–१९ को संक्रमितको मृत्यु भएको र अझै थुप्रै संक्रमित रहेको हुनसक्ने भन्दै त्रासदी फैलाउने अडियो सन्देश रेकर्ड गरी सामाजिक सञ्जालमा साझा गरेको थियो । साइबर ब्यूरोले युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले युवकलाई अपरान्ह साढे तीनबजे सिपाडोलबाट नियन्त्रणमा लिएको जनाएको छ ।