तस्विरः एजेन्सी
एजेन्सी
पोखरा, १० चैत । विश्वभर महामारीको रुप लिएको कोभिड–१९ को संक्रमणबाट सोमवार बिहानसम्म १४ हजार ६४१ जनाको मृत्यु भएको छ । अन्र्ताष्ट्रिय सञ्चार माध्यमअनुसार विश्वभर ३ लाख ३५ हजार ९७४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संक्रमित व्यक्तिमध्ये ९८ हजार ३२८ जना उपचारपछि घर फर्किएका छन् । कोभिड–१९ को संक्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस संक्रमणबाट चीनभरी ३ हजार २७४ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ४२६ जना संक्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी वुहानसहितका प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।
यसैगरी कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा ५ हजार ४७६ जनाको मृत्यु भइसकेको छ । सोमबार बिहानसम्म ५९ हजार १३८ जना संक्रमित रहेको इटालीमा ७ हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
यसैगरी स्पेन, इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । स्पेनमा कोरोना भाइरसको संक्रमणको कारण १ हजार ७७२ व्यक्तिको मृत्यु भएको छ भने हालसम्म २८ हजार ७६८ जना सङक्रमित रहेका छन् । सोमबार बिहानसम्म प्राप्त समाचार अनुसार २ हजार ५७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । इरानमा १ हजार ६८५ जनाको मृत्यु भएको छ भने २१ हजार ६३८ जना संक्रमित रहेका छन् । उपचारपछि ७ हजार ९३१ जना घर फर्किएका छन् ।
यता छिमेकी राष्ट्र भारतमा ७ जनाको मृत्यु भइसकेको छ । भारतमा सरकारले आइतबार एक दिन ‘जनता कफ्र्यु’ लागू गरेको छ । आइतबार भारतीय सरकारले घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको थियो । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएकोमा उनको उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।