कोरोना रोकथामका लागि गैरआवासीय नेपाली संघ र बसन्त चौधरीको एक/एक करोड सहयोग

-


     मर्दी न्युज    
     १० चैत्र २०७६ मा प्रकाशित


काठमाडौं, १० चैत । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने गैरआवासीय नेपाली संघले नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताएका छन् ।

संघको बैठकले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ भने उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ । गैरआवासीय संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्नेसमेत तयारी गरेको छ ।

यसैगरी सरकारले घोषणा गरेको कोरोना भाइरस राहात कोषमा उद्योगपति बसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका छन् ।

सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाख बराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले सहयोग घोषणा गर्दै ट्विटरमा लेखेका छन् ।

यसअघि संघले कोरोना भाइरस संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।