पोखरा, ११ चैत । सरकारले आज मंगलवार बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन देशैभर रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लक डाउन गर्ने निर्णय गरेको हो ।
सरकारले अत्यावश्यक सेवा बाहेक अन्य कामका लागि कोही पनि घरबाट निस्किन नपाउने, सवारी साधन चलाउन नपाउने आइतबार बसेको मन्त्रीपरिषदले निर्णय गरेको छ ।
सोमबारसाँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भोलि मंगलबार विहान ६ बजेबाट चैत्र १८ गते बिहान ६ बजेसम्मका लागि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाईएको जानकारी गराए । उनले खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउन नपाईने बताए ।
अर्थ एवं संचार तथा सुचना प्रविधि मन्त्री डा. खतिवडाले अत्यावश्यक सेवाका बाहेक अन्य कर्मचारीलाई आवश्यकता पर्दाका बखत तत्काल बोलाउन सक्ने गरी बिदा दिने व्यवस्था कार्यालय प्रमुखले मिलाउने गरी निर्णय भएको जनाए ।
कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाईन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृत गरेको र बलम्बूस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणको उपचार नेपाली सेना नेतृत्वको चिकित्सक टोलीले अन्य आवश्यक निकायसंग समन्वय र सहकार्य गरी गर्ने निर्णय गरेको पनि मन्त्री डा. खतिवडाले जानकारी गराए ।